मंगलबार, वैशाख ११, २०८१

‘केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान हुन्छ’

नेपालखोज २०७८ माघ ७ गते २१:१४

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् । गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनीसमेत दिए । गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए ।

उनले संविधान र कानुनको परिधि भित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए । विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन् ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष आग्रह गरे । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढन पाउने अवस्था गुम्ने चेतावनी पनि दिए ।

कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई दवाव दिए ।

अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरुमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराए । उनले निजी मेडिकल कलेजहरुको विद्यार्थीमाथिको दमन आफूहरुलाई स्विकार्य नहुने चेतावनीसमेत दिए ।

अध्यक्ष सिंहले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएपनि सोही अनुसारको व्यवस्था सरकारले गर्न नसकेको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया