सोमबार, वैशाख २४, २०८१

सोमबारसम्म हल्का वर्षा र हिमपात, सतर्कता अपनाउन महाशाखाको अनुरोध

नेपालखोज २०७८ माघ ८ गते १९:५६

काठमाडौं । आगामी सोमबारसम्म देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै गण्डकी, वाग्मती र प्रदेश १ का एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया