बुधबार, वैशाख २६, २०८१

निर्यात खस्किँदो, आयात ८ गुणा बढी

नेपालखोज २०७८ माघ ९ गते १४:३९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । नेपालले भने एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यातत ९५५ दशमलव ४८ प्रतिशतले बृद्धि भएको हो ।गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

व्यापार घाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४५ करोड रुपयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

१४१ देशबाट आयात

चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाख रुपैयाँको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

प्रतिक्रिया