मंगलबार, वैशाख २५, २०८१

चाबहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

नेपालखोज २०७८ माघ ९ गते १५:२७

काठमाडौं । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरे ।

पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए । मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ । पहिला पनि यहाँ स्थानीयहरुको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सरहाना पनि गरे ।’

उनले सडक दुर्घटना पनि कम हुने बताए । उनले धेरै समयअघि चावहिलमा पुल बनाएको र फेरि अर्को पुलको माग भएपछि शिलान्यास गरिएको शाक्यले बताए । उनले भने, ‘यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपटि शिलान्यास गरेका हौँ । अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ । यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ । जयबागेश्वरीमा पनि शुरु भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ । त्यो पनि चाँडै सकिन्छ । यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान छ । स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौँ ।’

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ भने यसमा कार्यावेश रकम भ्याटसहित १,३०,४२, ५७८.६४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया