शुक्रबार, वैशाख १४, २०८१

‘फोटो खिच्ने क्यामेराले होइन, दिमागले हो’

नेपालखोज २०७८ माघ ११ गते १४:२७

भरतबन्धु थापा फोटो पत्रकारिताको माध्यमबाट मुलुकभित्र भिजेका लेखक तथा फोटोपत्रकार हुन् । उनी फोटो खिच्ने कामसँगै अध्ययनका लागि पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमका दार्चुलालगायत विभिन्न ठाउँसम्म पुगेका छन् । उनले लगभग देशका पूरै जिल्ला पूगेर लोभलाग्दा तस्बिरसँगै पुस्तक पनि प्रकाशन गरेका छन् । सुरुमा फोटो पत्रकारिता गरेका उनले अहिलेसम्म ६ वटा पुस्तक प्रकाशन गरेका छन् । जुन उनको पेसा अर्थात् तस्बिरको सँगालोका रूपमा बुझ्न सकिन्छ । उनले पछिल्लो समय पर्यटन प्रवर्द्धनमा बढी जोड दिइरहेका छन् । नेपालखोजका लागि सहकर्मी केशव भट्टराईले फोटो पत्रकारितामा आकर्षण बढ्नुका कारण, पछिल्लो समय प्रकाशित पुस्तक, पर्यटनका क्षेत्रमा गरिएका अध्ययनहरूलगायत विषयको सेरोफेरोमा रहेर लेखक तथा फोटोग्राफर भरतबन्धु थापासँग कुराकानी गरेका छन् ।

हाइलाइट्स :
-म फोटो दूध-दही जस्तो हो भन्छु । दारुचाहिँ होइन, रक्सीचाहिँ होइन । सुरुमा त त्यसको महत्त्व त्यति हुँदैन । जब फोटोको समय छिप्पिँदै जान्छ, त्यसपछि महत्त्व हुन्छ ।
-आज खिच्यो आज हैन, भोलिको इतिहास हुन्छ फोटो । बाल्यकालको वा कलेज लाइफको फोटो अहिले देखियो भने त्यतिबेला छुट्टै अनुभूति हुन्छ । फोटो एउटा इतिहास हो ।
-शब्दभन्दा तस्बिर अझ बोल्छ । लगभग प्रवेशिका परीक्षा दिएपछि मैले तस्बिर कैद गर्न थालेको हुँ । २०५२ सालमा एसएलसी दिएँ । ब्याचलर पढ्न सुरु गरेदेखि भने मैले व्यावसायिक रूपमा फोटो खिच्न सुरु गरेँ ।
-मैले ०६२/६३ को आन्दोलनसम्म भने व्यापक रूपमा फोटो पत्रकारिता गरेँ । त्यो बेला जुन लगाव दिएर तस्बिर कैद गरिन्थ्यो, तर परिवर्तनको महसुस गरिएन ।
-प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सुन्दर वस्तुहरू खिच्नुपर्छ भनेर म हिमाल, पहाड र तराईतिर अलिक बढी केन्द्रित भएँ ।
-मलाई पहिलेदेखि फोटो खिच्न रहर लाग्थ्यो । ०५८ देखि मैले प्लस टु पढाउन सुरु गरेँ । तर रुचि फोटो पत्रकारितातिर बढ्दै गयो, पढाउनतिर घट्दै गयो ।
-सुरुमा फोटो खिच्दा क्यामेरामा रिल हालेर खिचिन्थ्यो, त्यसपछि एक मेगापिक्सेलको डिजिजल क्यामेरा आयो । फ्लपी डिस्क राखेर फोटो खिचियो । फ्लपी डिस्क बिग्रिएको बिग्रियै गथ्र्यो । चारवटा मात्रै फोटो अट्थ्यो ।
-भक्तपुरबाट काठमाडौं वा एक ठाउँबाट अर्को ठाउँ समाचार पठाउँदा फ्याक्स गरेर पठाउनुपथ्र्यो । ती दिन सम्झिने हो भने त अहिले आफूले गरेका काम हो कि होइन जस्तो लाग्छ ।
-मैले विभिन्न सञ्चारमाध्यमहरूमा पनि काम गर्दै आएँ । अनलाइन खबर, सेतोपाटी, हिमाल खबरलगायतमा काम गरेँ ।
-पछिल्लो समय मैले किताबहरू लेख्ने, गन्तव्यहरू पहिचान गर्ने, गन्तव्य स्थल बनाउने, सौन्दर्यलाई बाहिर ल्याउने, सुन्दर देश नेपाल कस्तो छ भनेर उजागार गर्ने, गन्तव्य स्थान भएकालाई सहजीकरण गर्नेलगायत काममा लागेको छु ।
-पछिल्लो समय ‘तस्बिरमा नेपाल’ र ‘गन्तव्य मध्यपुर’ नामका कितावहरू पनि लेखेको छु ।
-जुन ठाउँको फोटो खिचिँदै छ, पहिले अध्ययन गरेर मात्र क्लिक गर्नु राम्रो हुन्छ । फोटो क्यामेरा र मोबाइलले राम्रो खिच्ने होइन, पहिला दिमागमा म यस्तो खिच्छु भनेर चित्र आउँछ । क्यामेराले राम्रो फोटो खिच्ने होइन फोटो राम्रो त दिमागले खिच्ने हो । दिमागले खिचेपछि क्यामेरा माध्यमका रूपमा प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया