शुक्रबार, वैशाख ७, २०८१

केयूका उपकुलपतिलाई आठ विद्यार्थी संगठनको ज्ञापनपत्र

नेपालखोज २०७८ माघ ११ गते १४:१६

काठमाडौं । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र मोरङस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरूको माग सुनुवाइ गराउन केन्द्रीय विद्यार्थी संगठनहरूले काठमाडौं विश्वविद्यालयलाई दबाब दिएका छन् ।

दुवै कलेज काठमाडौं विश्वविद्यालयअन्तर्गतका भएकाले उपकुलपति भोला थापालाई ज्ञापनपत्र बुझाएर माग पूरा गराउन दबाब दिएको नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले जानकारी दिए । कलेजहरूले सरकारले र विश्वविद्यालयले तोकेका मापदण्डविपरीतका शुल्क लिने गरेको र पूरा गर्नुपर्ने मापदण्डहरू पूरा नगरेको भन्दै लामो समयदेखि विद्यार्थी आन्दोलित छन् ।

उनीहरूको आन्दोलनप्रति आठ विद्यार्थी संगठनहरूले ऐक्बबद्धता जनाएका छन् । उनीहरूले विद्यार्थीको माग पूरा नगराए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनहरूले मेडिकल कलेजका विद्यार्थीको आन्दोलनलाई साथ दिएका हुन् ।

चिकित्सा शिक्षा अध्ययनका लागि २०७८ को नयाँ भर्ना गर्नेक्रममा दुवै कलेजले प्रतिव्यक्ति झन्डै पाँच लाख रुपैयाँ बढी लिएको, ऐच्छिक हुनुपर्ने छात्रबासलाई अनिवार्य गरिएकोलगायत विरुद्धमा मंसिर १९ देखि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

विद्यार्थीहरूको मागबारे दुवै कलेजको नेतृत्वले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छिने गरेकाले आफूहरू उपकुलपतिको ध्यानाकर्षण गराउन गएको महामन्त्री पाण्डेले जानकारी दिए । उनले विद्यार्थीहरूको माग सम्बोधन गराउने र आन्दोलन अन्त्य गराउने बारेमा उपकुलपति थापा सकारात्मक देखिएको पनि बताए ।

प्रतिक्रिया