शुक्रबार, वैशाख ७, २०८१

सीटीईभीटीअन्तर्गतका सबै परीक्षा स्थगित

नेपालखोज २०७८ माघ ११ गते १९:२५

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण सीटीईभीटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सीटीईभीटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

सीटीईभीटीले यही माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले यही माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सीटीईभीटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए ।

प्रतिक्रिया