बिहीबार, वैशाख १३, २०८१

अमेरिका र रुसबीच तनाव बढ्दो

बाइडनले भने, ‘युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउँछु’

नेपालखोज २०७८ माघ १२ गते ९:५८


काठमाडौ. । युक्रेनमा रुसले हमला गरे राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नै प्रतिबन्ध लगाउने अमेरिकाले चतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ पनि सार्वजनिक भएको हो । रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्याउँदै आएको छ ।

बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि ‘असाधारण परिणाम’ निम्त्याउनसक्ने बताएका छन् । रुसले चाहिँ ‘युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको’ आरोप लगाएको छ । यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो संख्यामा सैनिकहरू तैनाथ गरेको छ । त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ गरिएको छ ।

संवाददाताहरूले यदि युक्रेनमाथि आक्रमण भए ‘तपाईँ रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रूपमै प्रतिबन्ध लगाउनु हुन्छ?’ भनेर सोधेको प्रश्नको जवाफमा बाइडनले ‘हो’ भनेका थिए । उनले युक्रेनको सिमाना पार गर्ने आक्रामक कदमले ‘विश्वव्यापी रूपमा असाधारण परिणाम’ निम्त्याउने र यो ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण’ हुनसक्ने बताए ।

बाइडनले त्यस्तो अवस्थाले पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको महसुस गराउनसक्ने पनि बताएका छन् । तर बाइडनले युक्रेनमा नै अमेरिकी सेना पठाउने कुनै योजना नभएको जनाए ।

यसअघि अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको थियो । दुई दिनअघि अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको थियो । -बीबीसी

प्रतिक्रिया