आइतबार, जेठ ६, २०८१

मन्त्री श्रेष्ठले भने – स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिन्छ

नेपालखोज २०७८ माघ १२ गते १७:३८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका छन्। आज काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन वटा चरणमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका हुन् ।

जनप्रतिनिधिहरुले आफूहरुले पूरा कार्यकाल चलाउन पाउनु पर्ने माग राखि रहेको भन्दै उनीहरुको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नमिल्ने तर्क समेत उनले गरे । कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो निर्वाचन मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै निर्वाचनको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उनको भनाई छ ।

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताए । प्रधानमन्त्रीले तोकेकै मितिमा निर्वाचन हुने उनले दाबी गरे । उनले कतिपय व्यक्तिहरुले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भएपनि गठबन्धन नफुट्ने दाबी गरे ।

निर्वाचन अघि वा निर्वाचन पछिसम्म नै कुनै न कुनै रुपको गठबन्धन कायमै रहने उनले स्पष्ट पारे । मन्त्री श्रेष्ठले जुनसुकै समयमा निर्वाचन गरेपनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरुको दुई तिहाई बहुमत आउने दाबी समेत गरे । गठबन्धनका लागि जुनसुकै समयमा निर्वाचन गरेपनि प्रतिकूलता नरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया