आइतबार, जेठ ६, २०८१

विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न माग

नेपालखोज २०७८ माघ १२ गते १८:३५

काठमाडौं । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७०औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रमा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातित बस्तुको भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्नु पर्ने बताएका छन् । उनले अहिले भन्सारमा मूल्य पुस्तिकाका आधारमा वस्तुको मूल्यांकन गरिन्छ, त्यो विश्व व्यापार संगठनसँगको सम्झौता विपरित भएको बताए । उनले भन्सारमा मूल्यांकनमा समस्या रहेकाले यो समस्या सरकारले तत्काल समाधान नगरे भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्र संकटमा पर्ने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक-फरक करलेसमेत समस्यामा परेको बताए । उनले पहिला एक रुपैयाँ कर लाग्ने ठाउँमा १० रुपैयाँको दोब्बरले बढेको बताए । श्रेष्ठले स्थानीय तहले सम्पति करको नाममा उद्योग तथा व्यवसायलाई कर लगाउनु गलत भएको बताए ।

उनले भन्सार भनेको राजश्वको शुरुवात मात्रै नभएर जनताको सुरक्षाको उद्गम विन्दु पनि भएको बताए । श्रेष्ठले सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नु पर्ने बताए । यस्तो प्रयोगशाला नहुँदा अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै भएको बताए । पछिल्लो समय शतप्रतिशत मार्जिनको कारण भन्सारमा रोकिएका सामानका गाडी सरकारले तत्काल भन्सार पास गर्नु पर्ने श्रेष्ठले माग राखे ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताए । उनले अहिले बढ्दै गएको मुलुकको व्यापार घाटा कम गर्न सरकारले निर्यात प्रर्वद्धन गर्नु पर्ने बताए । अध्यक्ष मल्लले सरकारले भन्सारमा सरकारले आयात भएको बस्तुको कारोबार मूल्यलाई मान्यता दिनु पर्ने बताएका छन् । जसरी भन्सारमा मूल्य पुस्तिका पल्टाएर व्यवसायीलाई दुःख दिँदा अर्थतन्त्रमा संकट आउन सक्ने बताए ।

अध्यक्ष मल्लले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्न सुझाव दिए । उनले अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्दा नेपालको सामान विदेश निर्यात गर्दा अन्य देशले क्वारेन्टाइन ठिक छैन भन्ने अवस्ता नआउने बताए ।

प्रतिक्रिया