आइतबार, जेठ ६, २०८१

सुदूरपश्चिममा गठबन्धनका तीनै जना विजयी

नेपालखोज २०७८ माघ १२ गते १९:४८

कैलाली । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठनबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।

दलित तर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका थिए ।

त्यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन् । विजयी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन् । यस्तै दुई मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए ।

प्रतिक्रिया