शुक्रबार, जेठ ४, २०८१

सबैभन्दा बढी खर्च गर्नेलाई बढी बजेटको व्यवस्था गर्ने अर्थमन्त्रीको उद्घोष

नेपालखोज २०७८ माघ १४ गते १७:३३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । आज अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुुन् ।

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानु पर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अङ्गिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताएका हुन् ।

त्यस्तै प्रदेश सरकारका मागहरूलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास दिलाए । यसैगरी मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने समेत बताए ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो । बैठकमा उनिहरूले नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको उल्लेख गरे ।

प्रतिक्रिया