शुक्रबार, जेठ ४, २०८१

‘विपतको क्षेत्रमा अझै सचेत र केन्द्रीकृत भएर लाग्न सकिएन’

नेपालखोज २०७८ माघ १४ गते १८:२०

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले विपतको क्षेत्रमा अझै सचेत र सजग भएर केन्द्रीकृत भएर लाग्न नसकेको बताएका छन् । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा मन्त्री खाँणले यस्तो बताएका हुन् ।

उनले नेपालको भू-बनावटका कारण जुनकुनै बेलामा पनि विपतका घटनाहरु हुन सक्ने भन्दै त्यसबारे पूर्व तयारी र विश्लेषण गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले विपत व्यवस्थापनको क्षेत्रमा अझै पनि सजगता र केन्द्रीकृत भएर लाग्न नसकेको साथै बजेट पनि भने जस्तो हुन नसकेको बताए ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विपत पूर्व नै पूर्व सूचना प्रणालीको व्यवस्था गरिनु पर्ने बताए । उनले जनतालाई विपतबाट जोगाउनका लागि चेतावनी स्वरुप सूचना प्रकाशन गर्दा त्यसले मानवीय र भौतिक क्षति हुनबाट जोगाउन सकिने बताए । मन्त्री श्रेष्ठले संघीय राज्य व्यवस्था भइसके पछि हरेक काममा तीन तहको समन्वयको आवश्यक पर्ने र स्थानीय तहलाई बजेटदेखि लिएर सबै क्षेत्रमा प्रभावकारी बनाउन सक्यो भने स्थानीय सरकारले धेरै काम गर्ने बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित रुपमा राखेका सुकुम्बासीहरुलाई सरकारले जगगा उपलब्ध गराउने भन्दा पनि आवास बनाउनु पर्ने बताइन् । उनले सरकार संविधानमा सुकुम्बासी, जोखिम बस्ती र विपत परेका व्यक्तिहरुरुलाई जग्गा वा आवास दुई मध्ये एकमा स्पष्ट हुन आवश्यक रहेको बताइन् ।

मन्त्री झाँक्रीले सरकारले जोखिममा परेकाहरुलाई जग्गा किनेर उपलब्ध गराउन सक्ने स्थितीमा नरहेको भन्दै विपतमा परेका वा जोखिमका बस्तीलाई जग्गा छोडेर आवास उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया