शनिबार, जेठ ५, २०८१

इमर्जिङ नेपालको साढे ५ लाख कित्ता आईपीओ आउँदै

नेपालखोज २०७८ माघ १८ गते १४:२८

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पाँच करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही माघ २६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही फागुन १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ । कम्पनीका अनुसार बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ११ हजार एक सय १२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् २७ हजार सात सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता सेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया