आइतबार, जेठ ६, २०८१

चीनमा वसन्त महोत्सव, एक साता बिदा

नेपालखोज २०७८ माघ १९ गते १०:२४

बेइजिङ । चीनमा वसन्त महोत्सव सुरु भएको छ । जसका लागि सरकारले एक साताको बिदा घोषणा गरेको छ । यो महोत्सव गोरु वर्षको समाप्ति तथा बाघ वर्षको प्रारम्भका अवसरमा मनाइन लागेको हो । यो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रका नाममा जारी गरेको शुभकामना सन्देशमा देशको कायाकल्प गर्ने दिशामा अघि बढ्न राष्ट्रिय एकताको ठूलो महत्त्व भएको बताएका छन् ।

चिनियाँ क्यालेन्डरअनुसार, सोमबार चीनमा गोरु वर्ष समाप्त भएको छ भने १ फेब्रुअरी २०२२ देखि बाघ वर्ष सुरु भएको छ । बाघ वर्ष आगामी २१ जनवरी २०२३ सम्म चल्नेछ । चिनियाँ संस्कृतिमा बाघलाई तागत, जोश तथा बहादुरीको प्रतीक मानिन्छ जसले मानिसलाई समस्याबाट बाहिर निकाल्दै शान्ति एवं समृद्धि प्रदान गर्छ ।

बाघ ती १२ पशुहरुमध्ये एक हो जसका आधारमा चीनमा राशि निर्धारित गरिएको छ । ती १२ पशुमा बाघका अतिरिक्त मुसा, गोरु, खरायो, ड्रागन, सर्प, घोडा, बाख्रा, बाँदर, कुखुरा, कुकुर तथा सुँगुर छन् । चीनमा लामो समयदेखि बाघको कौशल तथा ताकतलाई सम्मान गरिँदै आएको छ भने त्यहाँ बाघ वर्षलाई विशेष रूपमा शुभ मानिन्छ ।

वसन्त महोत्सवका क्रममा करोडौं चिनियाँ नागरिक हाम्रो दसैँमा मानिसहरु गाउँ गए जस्तो परिवारका साथ नव वर्षको स्वागत गर्न आ-आफ्नो गृहनगर पुग्छन् । यसपटक पनि राजधानी बेइजिङसहित अन्य प्रमुख सहरहरुबाट ठूलो संख्यामा मानिस आ-आफ्नो गाउँ फर्किएका छन् । यसक्रममा मानिसहरुले कोरोना भाइरसको डेल्टा तथा ओमिक्रोन भेरियन्टको बढ्दो प्रकोपको पनि त्यति वास्ता राखेको देखिएन ।

प्रतिक्रिया