वाग्मतीसहित ४ वटा प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र यसको प्रभाव आज रातिबाट अझ बढ्ने जल तथा मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने, बाँकी भागमा सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।
आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ भने, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने, मधेश प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा साथै गण्डकी, वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेश प्रदेश, वाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया