स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपालखोज २०७८ माघ १९ गते १२:२६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । बैठक आज १ बजे बस्ने भएको छ ।

बैठकमा एमालेले स्थानीय तहको निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीको विषयमा छलफल गर्ने छ । आज बस्ने बैठकमा विभिन्न विषय समेटिनेबारे छलफल गरिने सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय गरेको थियो ।

केन्द्रीय सचिवालय बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयले स्थान पाउने बताइएको छ । आजको बैठकको निर्णय तथा छलफलका आधारमा एमालेको भावी कार्यदिशा तय हुने बताइएको छ । कोरोना महामारीका कारण सचिवालय बैठकमार्फत निर्णय गर्नु परेको एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय सचिवालय अध्यक्ष ओलीसहित १९ सदस्यीय रहेको छ । सचिवालयमा एमालेका १९ जना पदाधिकारी नै सदस्य हुने व्यवस्था रहेको छ । सचिवालयमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहाचिस र ७ जना सचिव सदस्य छन् ।

प्रतिक्रिया