सिभिल हस्पिटलको लापरबाहीबारे मेडिकल काउन्सिलले छानबिन गर्ने

नेपालखोज २०७८ माघ १९ गते २१:५६

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरबाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ ।

श्रमजीवी पत्रकार संघ नेपालसँग आज काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले के-कति लापरबाही भएको हो, सोको विषयमा छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाई छ ।

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।

पत्रकार संघरसंगठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । संघले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठन-पाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।

संघले सिभिल अस्पतालले आफूखुसी छानबि समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ । संघले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ ।

उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको संघको भनाइ छ । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए ।

उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए। राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया