आइतबार, जेठ ६, २०८१

युक्रेन तनाव : अमेरिकाले थप सेना युरोप पठाउने, रुसका नजरमा विनाशकारी कदम

नेपालखोज २०७८ माघ २० गते ९:०१

काठमाडाैं । युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ ।

करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइनेछ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्नेछन् । उक्त अमेरिकी निर्णयलाई रुसले ‘विनाशकारी’ कदम भनेको छ ।

मस्कोले युक्रेनमाथि हमला गर्ने आफ्नो योजना नभएको जनाएको छ तर उसले युक्रेनी सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुन: चर्केको हो ।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन् । अहिले खटाइन लागेका अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन् । बीबीसी

प्रतिक्रिया