शुक्रबार, वैशाख २१, २०८१

किन लिन मानेनन् खेलकुद मन्त्रीले राखेपको ज्ञापनपत्र ?

नेपालखोज २०७८ माघ २० गते १६:५२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् । बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन् ।

परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् । ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए ।

त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाए । उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताए । उनले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे ।

अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागेपनि भेट्न मन्त्री गहतराजले नभेटेको बताए। उनले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीहरुको आत्मबल घट्दै गएको पनि बताए ।

प्रतिक्रिया