आइतबार, जेठ ६, २०८१

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

नेपालखोज २०७८ माघ २१ गते १८:५१

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले गर्दा सरकारले पूर्णता पाउन नसकेको उनले बताए ।

उनले अब तीन दिनमा कर्णाली सरकारले पूर्णता पाउने दावी गरे । । उनले भने, ‘अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ ।’

कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका तीन प्रदेशसभा सदस्य छन् । जसमा माओवादीले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले तीन मन्त्री पाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्ने छ ।

सरकारमा गठबन्धन दलभित्र कसको कति मन्त्री हुने भन्ने कुराको जानकारी पनि त्यही दिन सार्वजनिक गर्ने शाहीले स्पष्ट पारे । मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलभित्रको लामो गृहकार्यपछि कर्णाली सरकार आफ्नो लयमा अघि बढ्ने बताए ।

प्रतिक्रिया