मंगलबार, वैशाख २५, २०८१

मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने, प्रमुख अतिथि प्रचण्ड

नेपालखोज २०७८ माघ २७ गते १४:१७

काठमाडौं । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । सरकारले सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

अगामी फागुन १ गते परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने छ । कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको छ ।

प्रतिक्रिया