सोमबार, वैशाख २४, २०८१

सर्लाहीमा ११ स्थानीय तहकाे भवन नहुँदा सेवा प्रवाहमा समस्या

नेपालखोज २०७८ माघ २८ गते १२:३२

काठमाडौं । सर्लाहीका २० मध्ये ११ स्थानीय निकायमा आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । मलङग्वा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

स्थानीय तह निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ । २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थालेको भएपनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव, भवन निर्माणको विवादलगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रम्हपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् । स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले बताए । भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले जानकारी दिए ।

लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन् । पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन् । सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले वर्षेनी लाखौँ रकम भाडामै खर्च गर्नुपरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए ।

प्रतिक्रिया