बिहीबार, जेठ ३, २०८१

दर्जन बढी राष्ट्रद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन

नेपालखोज २०७८ फागुन १ गते १०:२५

वासिंटन । पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएको अवस्थामा एक दर्जनभन्दा बढी राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् । त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, यूके र जर्मनीसहितका मुलुक छन् ।

मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ । तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ ।पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिएका थिए ।

रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने अमेरिकी चेतावनी छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आएका छन् ।ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिएको छ । आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ‘ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा’ रहेको बताएका छन् ।आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे-नगरेको जानकारी नरहेको तर क्रेमलिनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताएका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए । अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो संकेतहरू अमेरिकाले देखेको बताएका छन् ।‘हामी यस्तो अवधिमा छौँ जहाँ जुनसुकै बेला आक्रमण सुरु हुन सक्छ । त्यो शीतकालीन ओलिम्पिक्सकै समयमा पनि हुन सक्छ’ उनले भने ।

रुसले भने उक्त आरोपलाई उक्साहटपूर्ण अनुमानको संज्ञा दिएको छ । रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त संगठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न पश्चमा राष्ट्र समक्ष रुसले माग गरेको छ । तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ ।

प्रतिक्रिया