मंगलबार, जेठ १, २०८१

आयरल्यान्डसँग भिड्दै नेपाल, सिरिज कब्जा गर्न जित्नैपर्ने दबाब

नेपालखोज २०७८ फागुन २ गते १४:३५

काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार अल अमरेत क्रिकेट मैदानमा अपरान्ह पौने ४ बजेदेखि सुरुहुने छ ।

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्नु अघि खेलिएको यो सिरिजलाई अभ्यासको रुपमा पनि लिइएको छ । आजको खेलमा जित निकाल्दै ग्लोबल छनोट खेल्ने लक्ष्यमा नेपाल छ । आयरल्याण्डको पनि रणनीति त्यही नै रहेको छ ।
पहिलो खेलमा घरेलु टोली ओमानविरुद्ध ६ विकेटको जित दर्ता गरेको नेपालले दोस्रो खेलमा यूएईसँग २५ रनले पराजय भोगेको थियो । उता आयरल्याण्डले पनि ओमानमाथि ९ विकेटको जित दर्ता गरेको थियो भने यूएईसँग १३ रनले पराजित भएको थियो ।

अहिलेसम्म नेपालबाट ३ जना खेलाडीले डेब्यु पनि गरेका छन् । कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो खेलमा सागर ढकाल र विवेक यादव तथा दोस्रो खेलमा लोकेश बमलाई डेब्यु गराएका थिए । सागर ढकाल असरदार देखिएनन् भने विवेकले ब्याटिङको मौका नै पाएनन् ।

युएईविरुद्ध डेब्यु गरेका लोकेश बमले भने २१ बलमा ३३ रन बनाउँदा २ छक्का र २ चौका प्रहार गर्दै आफूलाई सावित गराएका छन् । आयरल्याण्डविरुद्ध करण केसी र कुशल भुर्तेल पनि टिममा फर्कने अपेक्षा गरिएको छ । दुबै जना खेलाडीले चोटका कारण ओमान र युएईविरुद्धको खेल गुमाएका थिए ।

शृंखलाअन्तर्गत आजै यूएई र घरेलु टोली ओमानबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि दुवै खेल जितेको यूएईले यो खेल जितेमा शृंखला जित्नेछ । यूएई पराजित भएको र नेपालले आयरल्याण्डलाई हराउन सके नेपालको शृंखला जित्ने सम्भावना पनि रहने छ ।

नेपालले यो शृंखलापछि टी–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया