बिहीबार, जेठ ३, २०८१

बाइडेनले भने- युक्रेनमा रुसी आक्रमणको सम्भावना उच्च छ

नेपालखोज २०७८ फागुन ४ गते ८:०३

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै उच्च रहेको जनाएका छन् । उनले हमला भए निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने जनाएका छन् । टेलिभिज सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन् ।

बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताएका छन् । मस्कोले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए । रुसी नागरिकतिर लक्षित गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएकोु बताए । तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो ।

रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले, ‘रुसी फौज फर्कनु राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौं । ‘बरु हाम्रो समीक्षाले उनीहरू अहिले जोखिम सिर्जना गर्नसक्ने अवस्थामा रहेको सङ्केत गर्छ ।’

पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो । पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्। तर त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ ।

पूर्वी सोभियत गणराज्य युक्रेनसँग रुसको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ । युक्रेनी अधिकारीहरूले आफ्ना रक्षा मन्त्रालय र दुईवटा बैंकका वेबसाइटहरू साइबर हमलामा परेको जनाएका छन्।

युक्रेनको साइबर सुरक्षा केन्द्रले त्यो कसले गराएको भन्ने आफूलाई थाहा नभएको तर रुसले नगरेको होला भन्न समेत नसकिने जनाएको छ । कयौँ घण्टासम्म रक्षा मन्त्रालयको वेबसाइटको मुख्यपृष्ठमा त्यसमा सुधारको काम भइरहेको जनाइएको थियो । तर अहिले त्यसले काम गर्न थालेको छ । दुई बैंकले एप प्रणालीमा समस्या झेलेका थिए । -बीबीसी

प्रतिक्रिया