बुधबार, जेठ २, २०८१

के हो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन ?

नेपालखोज २०७८ फागुन ६ गते १२:२७

काठमाडौं । कोभिड-१९ को ओमिक्रोन भेरियन्टको विनाश केही मत्थर भए पनि वैज्ञानिकहरुले यसको एउटा नयाँ भेरियन्टलाई लिएर चेतावनी जारी गरेका छन् । एक अध्ययनअनुसार ओमिक्रोनपछि अब कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन (Deltacron) ले संसारको चिन्ता बढाउन सक्छ ।

के हो डेल्टाक्रोन ?
मिडिया रिपोर्टहरुअनुसार, वैज्ञानिकहरुका अनुसार डेल्टाक्रोन भेरियन्ट ओमिक्रोन भेरियन्टको तुलनामा बढी खतरनाक साबित हुनेछ । अहिले कैंयन् देशले कोरोनाका केश कम भएको भन्दै निषेधहरु फुकुवा गरिरहेका भए पनि अझै सावधानी आवश्यक भएको चिकित्सकहरुको भनाइ छ । बेलायतको एडिनबर्ग युनिभर्सिटीद्वारा गरिएको उक्त अध्ययनमा नयाँ भेरियन्ट डेल्टाक्रोनको लहर कहिले आउँछ भन्नेचाहिँ स्पष्ट पारिएको छैन ।

विश्व स्वास्थ्य संगठनको दाबी
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन मात्र होइन अरु नयाँ-नयाँ भेरियन्ट पनि देखा पर्न सक्छ जुन अघिल्ला भेरियन्टको तुलनामा कम वा बढी फैलने वा क्षति पुर्याउने हुनसक्छ । डब्ल्यूएचओले अमेरिकाबाट पनि एउटा नयाँ भेरियन्ट फेला परेको भन्दै अलर्ट जारी गरेको छ ।

के भन्छन् बेलायती विज्ञहरु ?
ब्रिटेनका विशेषज्ञहरुका अनुसार डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर बनेको यो नयाँ भेरियन्ट डेल्टाक्रोनका केस बेलायतमा बढ्दै गएका छन् । विशेषज्ञहरु भन्छन् यो भेरियन्ट निकै संक्रामक र घातक हुन सक्छ किनभने यसमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्टका गुण छ ।
दुईवटा भेरियन्ट मिलेर बनेक‍ो हुँदा डेल्टाक्रोनलाई लिएर वैज्ञानिकहरु चिन्तित भएका हुन् । यद्यपि अहिलेसम्म डेल्टाक्रोनले खतराको रुप लिइसकेको छैन र यसका लक्षण, जोखिम आदिका बारेमा पनि प्रशस्त अध्ययन आवश्यक छ ।

प्रतिक्रिया