मंगलबार, जेठ १, २०८१

‘ए’ डिभिजन लिग : १२औं चरणका खेल शनिबारबाट

नेपालखोज २०७८ फागुन ६ गते १७:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीले मेहनत गर्नुपर्नेछ ।

यस्तै मनाङ मस्र्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ । शनिबार दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीलाई जित आवश्यक छ ।

फ्रेन्ड्स रेलिगेशन निश्चित गर्न खराब नतिजाबाट गुज्रिरहेको च्यासल युथविरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेशन बच्ने गुरुयोजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिनेछ । च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेशन पक्का जस्तै हुने भएकाले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ ।

रेलिगेशन क्षेत्र भन्दा माथि भएपनि अंक अन्तर छिनो हुँदा फ्रेन्ड्सलाई खतराको घन्टी बराबरी वा पराजयमा हुनेछ । सोही कारण रेलिगेशन संकट टार्न कुनै पनि हालतमा जितको खोजीमा खेल्नले फ्रेन्ड्सका प्रशिक्षक मिग्रिन्द्र मिश्रले बताए । १२औं चरणको खेल अन्तर्गत शनिबार नै हुने दिनको दोस्रो खेल च्याम्पियन भइसकेको मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

च्याम्पियन मच्छिन्द्र थ्री स्टारविरुद्धको खेलमा जित निकाल्दै जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । यस्तै सुरुआती खेलमा खराब नतिजा निकालेको थ्री स्टार तालिकामा दोस्रो स्थानमा अटाउने लक्ष्यका साथ तीन अंकको खोजीमा बलियो मच्छिन्द्रविरुद्ध खेल्नेछ । च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिग पूरा गर्ने लक्ष्य सहित थ्री स्टारविरुद्ध सुखद नतिजाका लागि खेल्ने बताए ।

१२औं चरणको खेल अन्र्तगत विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । एपिएफले अघिलला खेलमा अपनाएको सुखद रणनीतिको सुत्रलाई निरन्तरता दिन चाहन्छ भने पुलिसले पनि जितको खोजीमा मैदान उत्रिनेछ । सम्मान जनक स्थानकालागि पुलिसका लागि जित निकै महत्वपूर्ण हुनेछ ।

११औं चरणको खेल सकिँदा सम्म च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ, भने रेलिगेशनमा पर्ने टोलीको निधो हुन बाँकी छ । औसत प्रदर्शन गरेका पुछारका टोलीलो सोही सरहका टोलीसँग हुने प्रतिस्पर्धामा सुखद निकाल्दा समिकरण रोमाञ्चक हुनेछ ।

प्रतिक्रिया