बुधबार, जेठ २, २०८१

चीनले भन्यो- एमसीसीमार्फत नेपाललाई अमेरिकाको ‘धम्की कुटनीति’

नेपालखोज २०७८ फागुन ६ गते २०:१०

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसनलाई लिएर नेपालमा सत्ता गठबन्धनमा मात्र विवाद बढेको छैन । यसलाई लिएर अमेरिका र चीनले पनि एकअर्काविरुद्ध टिकाटीप्पणी सुरु गरेका छन् ।

चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । बेइजिङमा शुक्रबार पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाएको छ । चीनले यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’

पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित गर्न वा पुनर्विचार गर्न भनेको नभए नेपाल(अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो । हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसीबारे विवाद बढ्दा आन्दोलन चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने चीनले बताएको छ ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए । उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए ।

यसैबीच एमसीसीको विरोधमा नेपालमा आन्दोलन चर्किएपछि अमेरिकाले हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासको आधिकारिक सामाजिक सञ्जालमा लेख्दै एमसीसीलाई लिएर हिंसात्मक गतिविधि हुन नहुने बताएका छन् ।

प्रतिक्रिया