बुधबार, जेठ २, २०८१

बाइडेनलाई तनाव, भन्छन्- पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगिसके

नेपालखोज २०७८ फागुन ७ गते ११:०७

किएभ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र आगामी दिनमा हमला हुनसक्ने बताएका छन् । उनले अमेरिकी गुप्तचर निकायको सुझावमा आफ्नो विश्लेषण आएको बताएका छन् । उक्त निकायले राजधानी किएभलाई पनि निशाना बनाउन सक्ने उल्लेख गरेको छ ।

रुसले आफूले आक्रमणको योजना बनाइरहेको अस्वीकार गरेको छ । रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी संकटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ । अमेरिकाले १ लाख ६९,००० देखि १ लाख ९० हजारसम्म रुसी सैनिकहरू युक्रेनभित्र र नजिकै भेला भइरहेको आकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको संख्या पनि जोडिएको छ ।

ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताएका थिए । राष्ट्रपति पुटिनप्रति संकेत गर्दै उनले अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए ।

यसअघि शुक्रवार दुईवटा पृथकतावादी क्षेत्रका नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै आएको छ । युक्रेनी विदेशमन्त्रीले त्यस्ता विवरणलाई ूरुसले फैलाएको मिथ्या खबरको रूपमा चित्रण गरेको छ । उक्त क्षेत्रमा लाखौँ मानिसहरूको बसोबास छ र उनीहरूको उद्धार अघि बढाउनु एउटा ठूलो जिम्मेवारी हुनेछ ।

त्यस्तो सामूहिक उद्धारको संकेत मिलेको छैन । तर रुसी सरकारी सञ्चार माध्यमले कैयौँ बसहरू चढेर स्थानीय बासिन्दाहरू रुस आएको विवरण प्रकाशित गरेका छन्।् । क्रेमलिनले राष्ट्रपति पुटिनले सीमा नजिकै शरणार्थी शिविर स्थापनाका लागि आदेश दिएको जनाएको छ । पृथकतावादी क्षेत्रबाट आउने मानिसहरूलाई आपत्कालीन सहायता उपलब्ध गराउन भनेको जनाइएको छ ।-बीबीसी

प्रतिक्रिया