शुक्रबार, जेठ ४, २०८१

अबको खेल नेपालले जिते विश्वकपमा पुग्ने

नेपालखोज २०७८ फागुन ९ गते १८:३९

काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकप छनोटमा लगातार तेस्रो जित निकाल्दै नेपाल समुह बी को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले क्यानडालाई ८ विकेटले हरायो ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपाली बलरले क्यानडाको पारीलाई पुरै ध्वस्त पारे । क्यानडा १५ ओभरमा ८० रनमा अलआउट भयो । क्यानडाका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । बाँकी खेलाडी एकपछि अर्काे गरेर पेभेलियन फर्किए ।

क्यानडाको स्कोर मात्र दुई रन हुँदा नेपालले पहिलो सफलता हात पारेको थियो । नेपालका लागि कमलसिंह ऐरीले पहिलो विकेट लिए । उनले डेब्यु खेलमा नै शतक बनाएर कीर्तिमान बनाएका म्याथ्यु स्पोर्सलाई खाता खोल्न नपाउँदै आउट गरे । त्यसपछि क्यानडाको स्कोर ३० रन हुँदा दोस्रो विकेट लिन सफल भए । यसपटक पनि नेपालका लागि कमलले नै विकेट लिए । उनले नभनित डालीवाललाई १८ रनमा पेभेलियन फर्काए ।
क्यानडाको स्कोर ३७ रन हुँदा तेस्रो विकेट गयो । उसका रायन पठानलाई १४ रनमा कमल सिंह ऐरीले रनआउट गरे । जसका कारण क्यानडा पारीको सुरुवातमा नै दबाबमा परेको थियो ।

त्यसपछि क्यानडाको ३९ रन हुँदा नेपालले चौथो सफलता हात पार्‍याे । अभिनाश बोहराले रभिन्दरपाल सिंहलाई मात्र एक रनमा आशिफ शेखको हातबाट क्याचआउट गराए । त्यसपछि सन्दिप लामिछानेले हम्जा तरिकलाई मात्र एक रनमा आउट गर्दा क्यानडाले ४१ रनमा पाँच विकेट गुमायो । त्यस लगत्तै क्यानडाले अर्को विकेट गुमायो । उसका साद बीन जफर मात्र दुई रनमा रनआउट भए ।

क्यानडाको विकेट झर्ने क्रम यतिमा राकिएन । उसको स्कोर ४४ रन हुँदा सातौं विकेट गयो । उसका कलिम साना मात्र एक रनमा आउट भए । उनलाई सन्दिप लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । क्यानडाले स्कोरबोर्डमा एक रन पनि थप्न नपाउँदा आठौं विकेट गुमायो । कुशल मल्लले हर्ष ठकरलाई ब्यक्तिगत दुई रनमा आउट गरे । त्यसपछि जुनेइद सिद्दिकीलाई सन्दिप लामिछानेले मात्र दुई रनमा आशिफ शेखको हातबाट क्याच आउट गराएपनि क्यानडाले ४८ रनमा नौं विकेट गुमायो । अन्तिममा डिलोनले अविजित २४ रन बनाए भने सलमान नजरले १० रन बनाए ।

बलिङमा सन्दिप लामिछानेले चार ओभरमा १२ रन खर्चिएर महत्वपुर्ण तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र अभिनाश बोहराले दुई/दुई विकेट लिए भने कुशल मल्लले एक एक विकेट लिए । मात्र ८१ रनको लक्ष्य पक्ष्याइरहेको नेपालले १४ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले सुरुवात भने खासै राम्रो गर्न सकेन । नेपालले २२ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका ओपनर आशिफ शेख ब्यक्तिगत १७ रनमा सलमान नजरको बलमा एलबीडब्लु धरापमा परे । उनले एक चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यसपछि क्रिजमा आएका कुशल मल्ल खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । कुशल कलिम सानाको बलमा गोल्डेन डक भए । त्यसपछि दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले जिम्मेवारीपुर्ण साझेदारी गर्दै टिमलाई जित दिलाए ।

जसमा तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले ५८ रनको साझेदारी गरे । जसमा कुशलले ३७ बलमा तीन चौकाको मद्दतले अविजित ३४ रन बनाए भने दीपेन्द्रले ३१ बलमा तीन चौकाको मद्दतले अविजित २७ रन बनाए ।

लगातार तीन खेलमा जित निकाल्दै नेपालले समूह बी मा ६ अंक बनाएको छ । योसँगै ग्लोबल छनोटको समूह बी को सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा ओमानले आयरल्याण्डसँग खेल्नेछ भने नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल मंगलबार अपराह्न पौने चार बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया