बुधबार, जेठ २, २०८१

रूस र युक्रेनबीच युद्ध भए के होला संसारमा ?

नेपालखोज २०७८ फागुन १० गते १६:४९

काठमाडौं । रुस र युक्रेनबीचको तनाव समाप्त हुने कुनै सम्भावना निकै क्षीण देखिन्छ, यी दुई देशबीच कुनै पनि समय युद्ध सुरु हुने आशंका अहिले पनि उत्तिकै छ ।

अमेरिका, फ्रान्ससहित केही अन्य देश यो सम्भावित युद्ध टार्ने प्रयासमा छन् । यद्यपि अहिलेसम्म युद्ध टरेको समाचार सुन्न पाइएको छैन । यदि यो युद्ध सुरु भइहाल्यो भने यसको व्यापक असर संसारभर पर्नेछ र हामी पनि यसको प्रत्यक्ष -अप्रत्यक्ष प्रभावबाट अछुतो रहने छैनौं । हेरौं, रूस र युक्रेनबीचको युद्धले कसरी पूरै संसारलाई दुस्प्रभावित गर्न सक्छ ?

१. तेल तथा प्राकृतिक ग्यासको मूल्यमा असर
यदि रूस र युक्रेनबीच युद्ध भयो भने त्यसको पहिलो र व्यापक असर तेल तथा प्राकृतिक ग्यासको मूल्यमा पर्नेछ । अहिले युरोपका अधिकाशं देश तेल तथा प्राकृतिक ग्यासका लागि रूस प्रति निर्भर छन् । युद्ध भएको स्थितिमा रूसबाट हुने तेलको सप्लाई रोकिन सक्छ । जसले खासगरी पश्चिमी युरोपमाथि खराब असर पार्नेछ । यदि तेल तथा प्राकृतिक ग्यासको सप्लाई रोकिएन भने पनि यसको मूल्यवृद्धि निश्चित जस्तै हुनेछ । अहिले तनावको स्थितिमै तेलको मूल्य १०० डलर प्रतिब्यारेल पुगिसकेको छ भने युद्ध भएको अवस्थामा यो १२५ देखि १३० डलर प्रतिब्यारलसम्म पुग्नेछ ।

२. आर्थिक संकट
रूस र युक्रेनबीच युद्ध भएको अवस्थामा सारा संसारमा आर्थिक संकटको स्थिति उत्पन्न हुन सक्छ । अहिले तेलको मूल्यले नै हामी जस्ता विकासशील देशको ढाड भाँचिरहेको छ भने युद्धले यो अवस्था अझ खराब बनाउनेछ । यो सम्भावित युद्धले अन्तर्राष्ट्रिय बजारलाई दुस्प्रभावित तुल्याउने छ किनभने यसले अन्तर्राष्ट्रिय मुद्रा बजारमा अनिश्चितता सिर्जना गर्नेछ र त्यसले आर्थिक मन्दी ल्याउने पक्का छ । त्यसै पनि कोरोना महामारीले संसारको अर्थव्यवस्थालाई धेरै पछाडि धकेलिसकेको छ ।

३. दुई पक्षमा बाँडिनेछ संसार
युद्ध सुरु भएको अवस्थामा संसार दुई ध्रुवमा बाँडिन सक्छ । यस्तो अवस्थामा अमेरिकाले रूसविरुद्ध मात्र होइन उसलाई साथदिने अन्य मुलुकविरुद्ध पनि कडा प्रतिबन्धहरु लगाउन सक्छ । उता युरोपियन देशहरु युक्रेनका साथ रहेर उसलाई यथासम्भव मद्दत गर्ने पक्षमा छन् । बेलायत र फ्रान्स आदिले हतियारसहित अन्य आवश्यक कुरामा युक्रेनलाई मद्दत दिन थालिसकेका छन् । त्यसपछि रूसलाई साथ दिने देश र युक्रेनलाई साथ दिने देश गरी संसार दुई भागमा बाँडिन थाल्नेछ । यस्तो स्थितिमा युद्ध निकै लामो समय चल्न सक्छ भने संसारमा दोस्रो विश्वयुद्धभन्दा खतरनाक अवस्था सिर्जना हुनसक्छ ।

४. युक्रेन अर्को अफगानिस्तान बन्नसक्छ
यदि युद्ध सुरु भएर रूस युक्रेनभित्र पस्यो भने युक्रेन अर्को अफगानिस्तान बन्न सक्छ । त्यस्तो स्थितिमा रूसले समेत नोक्सानी बेहोर्नुपर्नेछ । १९९२ मा रुसले अफगानिस्तान माथि सैन्य हस्तक्षेप गरेको थियो र उ त्यहाँ लामो समय अल्झियो । यसबाट रूसले ठूलो आर्थिक क्षति मात्र व्यवहोरेन उसले आफ्नो मिसन त्यागेर खालि हात फर्कनुपर्यो । यसमा सोभियत संघका कैंयन् सैनिक मारिए भने आखिरमा सोभियत संघको अस्तित्व नै समाप्त भयो ।

५ . नरोकिने लडाइँ
यदि यो युद्ध सुरु भइहाले यसलाई रोक्न कठिन हुनेछ । रूस अहिले सोभियत संघको विघटनपछिको रूसजस्तो कदापि छैन । उसले अनेक किसिमले आफूलाई शक्तिशाली बनाइसकेको छ । अहिले मध्य एसियामा रुसको राम्रै दबदबा छ । रुससँग अन्य आधुनिक हतियारहरु मात्र होइन परमाणु हतियारको समेत ठूलो भण्डार छ । यता अमेरिकासहित शक्तिशाली युरोपेली मुलुक युक्रेनका साथ डटिरहे भने युक्रेन पनि हत्तपत्त गल्ने छैन । यस्तो अवस्थामा युद्धमाथि तत्काल नियन्त्रण गर्न पनि गाह्रो हुनेछ ।

६ . गहुँको अभाव
रूस र युक्रेन बीचको युद्धले संसारमा गहूँको अभाव सिर्जना गर्नसक्छ । युक्रेन, रूस, कजाकिस्तान तथा रोमानिया संसारका ठुला गहुँ निर्यातक हुन् । यदि त्यो क्षेत्रमा युद्ध सुरु भए गहुँ निर्यातमा बाधा उत्पन्न हुनेछ र सारा संसारले गहुँको अभाव झेल्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया