शुक्रबार, जेठ ४, २०८१

‘ए’ डिभिलन लिग : संकटालाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी दोस्रो स्थानमा उक्लियो

नेपालखोज २०७८ फागुन १० गते २०:१७

काठमाडौं । पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब र एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिलन लिगमा आज १–१ को बराबरी खेल्दा अर्को खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–१ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिस क्लबले पहिलो मिनेटमै सुमन लामाको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा एपिएफसँग अंक बाँडेको हो । एपिएफका डिफेन्डरबीच राम्रो तालमेल मिल्न नसक्दा पुलिसका सुमनले फाइदा उठाउँदै पहिलो मिनेटमा अग्रता दिलाएका हुन् । कपिल ढकालको लामो पास एपीएफका रक्षक एडमा डौम्बियाले राम्रोसँग क्लियर गर्न चुकेका थिए ।

गोलकिपर युया कुरियामा पनि अगाडी बढेको अवस्थामा सुमनले डौम्बियाले क्लियर गरेको बल नियन्त्रणमा लिएर खाली पोस्टमा गोल गरेका थिए । त्यसपछि दबाबमा परेको एपिएफले पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो । प्रदीप लामाले ४१औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

प्रदीपले २० यार्डबाट हानेको प्रहार सोझै गोलमा परिणत हुँदा खेल बराबरीको अवस्थामा आएको थियो । पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले खेलमा जित निकाल्न संघर्ष गरे पनि सफल हुन सकेनन र बराबरीमा नतिजा सकियो ।

बराबरीपछि एपीएफले १२ खेलबाट १५ अंक जोडेको छ । नेपाल पुलिस क्लबले भने १२ खेलबाट १२ अंक जोडेको छ । पुलिस क्लब भने ११औं स्थानमा यथावत छ । १२औं चरणको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबलाई ३–१ गोलले पराजित गरेको हो । आर्मीले संकटाले लिएको अग्रतालाई उल्टाउँदै महत्वपूर्ण तीन अंक जोडेको हो । यससँगै आर्मीले जारी लिगमा अपराजित यात्रालाई १२औं चरणको खेलमा निरन्तरता दिएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो । १५औं मिनेटमा उत्तम राईको गोलबाट अग्रता लिएको संकटाले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको आर्मीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै अग्रता उल्टाउँदा जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

दोस्रो हाफमा सुधारिएको खेल देखाएको आर्मीका लागि सन्तोष तामाङले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि लयमा फर्किएको आर्मीले ७४औं मिनेटमा अग्रता उल्टायो । जर्ज प्रिन्स कार्कीले टोलीका लागि दोस्रो गोल गरेका हुन् । खेल सकिन चार मिनेट बाँकी रहँदा टेक बहादुर बुढाथोकीले टोलीका लागि तेस्रो गोल थप्दै जित निश्चित बनाए ।

जितसँगै त्रिभुवन आर्मी सहिद स्मारक ए डिभिज लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट २२ अंक जोडेको आर्मीले न्युरोड टिम (एनआरटी)लाई २ अंकले उछिनेको छ । पराजित संकटा सातौं स्थानमा यथावत छ । यससँगै लिगमा १२औं चरणका खेल पनि सकिएका छन् । लिगमा अब अन्तिम १३औं चरणका खेलमात्र बाँकी रहेका छन् ।

१३औं चरणका खेल बिहीबारबाट हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार १३औं चरणको खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा गरी दुई रंगशालामा हुनेछन् । अन्तिम चरण अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार खेल हुने छन् । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीन खेल हुनेछन् । लिगको उपाधि मछिन्द्रले जितिसकेको छ । यस्तै च्यासल र ब्रिगेड बी डिभिजनमा घटुवा भएका छन् ।

प्रतिक्रिया