शुक्रबार, जेठ ४, २०८१

नेपाल आईसीसी टि–२० विश्व वरीयतामा दुई स्थान तल झर्‍यो

नेपालखोज २०७८ फागुन ११ गते ८:२६

काठमाडौं । आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो ।

ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर÷नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो ।

नेपालले विश्वकप छनोटमा तेस्रो स्थानको लागि भोलि ओमानसँग खेल्नेछ । नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन् । यूएई भने १२ औं स्थानमा पुगेको छ । भारत पहिलो, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया