बिहीबार, जेठ ३, २०८१

चुनाव नजिकिएसँगै हुम्लामा बिदाको दिन पनि कार्यालयबाट सेवा

नेपालखोज २०७८ फागुन ११ गते १३:२६

काठमाडौं । निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन कार्यालयले जनाउको छ ।

जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने बताए । सेवा निर्वाचनका समयसम्म जारी रहने बताइएको छ । हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई नयाँ परिचयपत्र दिने काम भइरहेको छ । आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा निवेदन दिनेले नयाँ मतदाता परिचयपत्र पाउने कार्यालयले जनाएको छ ।

हाल कार्यालयमा पाँच कर्मचारी खटिएका छन् । कामको चाप हेरी कर्मचारी थप्ने तयारी गरिएको कार्यालयले जनाएको छ । फागुन १९ गते जिल्लाका ४४ वडाका मतादाताको नामावली प्रकाशित हुने र त्यसपछि २५ गतेसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन हुने रानाले जानकारी दिए ।

हुम्लाको मतदाता संख्या ३२ हजार ९८३ रहेको छ । विसं २०७४ को निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए ।

प्रतिक्रिया