शनिबार, वैशाख २२, २०८१

दक्षिण कोरियामा मौसमी कामदार पठाउने सरकारको तयारी

नेपालखोज २०७८ फागुन ११ गते १७:४०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न ६ वटा कार्यदल तथा समिति गठन गरेका हुन् ।

वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन समसामयिक सुधार एवम् परिमार्जन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्यदलले प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सरकारसँग छलफल गरी कानुन र परराष्ट्र मन्त्रालयको राय लिइ मन्त्रिपरिषदमा पेस गर्न अन्तिम मस्यौदा प्रस्तुत गर्नेछ । साथै, श्रम प्रशासनको विद्यमान अवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि श्रम ऐन, नियमावली संशोधनका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ ।

मन्त्रालयको बार्षिक कार्यक्रममा उल्लेख भएअनुसार श्रमिक सहकारी समुह गठन तथा परिचालन सम्वन्धि कार्यविधि बनाउन मन्त्रालयका श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । श्रमिकको सामाजिक सुरक्षा तथा सामाजिक संरक्षण सुनिश्चित गर्न श्रमिक तथा उनिको परिवारको कल्याणका लागि श्रमिक सहकारी गठनको अवधारणा ल्याइएको हो । मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्यसमुहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजककत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ ।

मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने बिषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजककत्वमा कार्यदल गठन गरेको छ । दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच सम्वन्ध कायम गर्दै मौसमी कामदार पठाउने बिषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो ।

प्रतिक्रिया