बुधबार, जेठ २, २०८१

के गुराँसको फूलबाट कोरोनाको औषधि तयार होला ?

नेपालखोज २०७८ फागुन १२ गते २०:४३

नयाँदिल्ली । भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) मन्डी तथा इन्टरनेसनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी (आईसीजीईबी) का शोधकर्ताहरुले हालै पहाडी क्षेत्रमा पाइने गुराँसको फूलबाट कोरोनाको उपचार खोजेको दाबी गरेका छन् ।
शोधकर्ताहरुका अनुसार भविष्यमा गुराँसको फूलबाट कोरोनाको औषधि तयार गर्न सकिन्छ । गुराँसको फूलमा पाइने रसायन (केमिकल) ले कोरोना संक्रमणलाई माथ दिन अहं भूमिका निर्वाह गर्ने शोधकर्ताहरुको दाबी छ ।

गुराँसले कसरी रोक्छ कोरोना संक्रमण ?
इन्टरनेसनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी (आईसीजीईबी) का डा. रञ्जन नन्दाका अनुसार गुराँसमा पाइने फाइटोकेमिकल्सले हाम्रो शरीरमा दुई किसिमले काम गर्छ । सबैभन्दा पहिले यो कोरोना भाइरसमा हुने एक एन्जाइमसँग जोडिन्छ जसले भाइरसलाई आफ्नो नक्कल गर्न मद्दत गर्छ । यसका अतिरिक्त यो फाइटोकेमिकल्स हाम्रो शरीरमा पाइने एसीई-२ इन्जाइमसँग पनि गाँसिन्छ । एसीई-२ इन्जाइमको माध्यमबाटै भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ ।

वैज्ञानिकहरुका अनुसार फाइटोकेमिकलको यो प्रतिक्रियाका कारण कोरोना भाइरसले हाम्रो शरीरको कोशिकाहरुलाई संक्रमित गर्न सक्दैन र संक्रमणको खतरा टरेर जान्छ । आईआईटीका प्रोफेसर डा. श्यामकुमार मसकपल्ली भन्छन्- हामीलाई आशा छ कि गुराँसको फूलको मद्दतबाट कोरोनाको उपचार सम्भव हुनेछ ।

प्रतिक्रिया