शुक्रबार, जेठ ४, २०८१

एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा

नेपालखोज २०७८ फागुन १२ गते १६:२३

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह ‘बी’ मा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन् भने समूह ‘सी’ मा उज्बेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंका छन् । समूह ‘डी’ मा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन् ।

समूह ‘ई’ मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बंगलादेश छन् भने समूह ‘एफ’ मा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिंगापुर छन् । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया