शनिबार, वैशाख २२, २०८१

साहित्यकार आचार्यका चार कृति लोकार्पित

नेपालखोज २०७८ फागुन १४ गते २२:२१

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकार खिमानन्द आचार्यद्वारा लिखित विभिन्न विधाका चार कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गरेका छन्।

‘डिभर्ना–काठमाडौं समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहेका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्किएका हुन् ।

कुलपति उप्रेतीले स्रष्टा आचार्यले आफूले देखे भोगेका संघर्ष र अनुभवलाई सिर्जनामा उतारेर राष्ट्रलाई गुन लगाएको बताए। समीक्षकहरूले आचार्यका कृतिमा देशप्रेम, मानवीय चेतना, विकृति र विसंगतिविरुद्धका सन्देश र समसामयिकता पाइएको टिप्पणी गरेका थिए ।

आचार्यका कृतिहरूमाथि साहित्यकार एवं समालोचकहरू डा मोदनाथ प्रश्रित, विष्णु प्रभात, डा राजाराम सुवेदी र श्रीओम श्रेष्ठ ‘रोदन’ ले समीक्षा गरेका थिए ।

प्रतिक्रिया