आइतबार, जेठ ६, २०८१

वीरेन्द्रनगरमा झडप, जारी निषेधाज्ञा प्रदर्शनकारीद्वारा उल्लंघन

नेपालखोज २०७८ फागुन १७ गते १४:३५
फाइल तस्बिर ।

सुर्खेत । एमसीसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि आन्दोलन गरिरहेका छन् । उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन जारी राखेका हुन् ।

निषेधाज्ञा उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट नगर प्रहरी-प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी नौजना सामान्य घाइते छन् ।

दुई सर्वसाधारण घाइते भएका छन् । प्रदर्शनीका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी गरेको हो । हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफेड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अर्को निर्णय नहुँदासम्मका लागि आज बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । उनले आज (मंगलबार) दिनभरको स्थिति हेरेर थप निर्णय लिइने पनि जानकारी दिए । -रासस

प्रतिक्रिया