सोमबार, वैशाख २४, २०८१

आगामी चुनावमा गठबन्धन हुन्छ : जयराम यादव

नेपालखोज २०७८ फागुन १७ गते १८:२३

काठमाडौं । जनता समाजवादी पार्टीका नेता जयराम यादवले राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । प्रदेश नं १ का स्वास्थ्य मन्त्री समेत रहेका यादवले संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए ।

अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन गरेर जाने यादवको दाबी छ । उनले भने, ‘राष्ट्रिय सभाको चुनावको परिणाम र भागवण्डाको आधारमा आउँदा दिनहरुमा पनि पार्टी र उम्मेदवारको हैसियतलाई ख्याल गरेर गठबन्धन अघि बढेमा राम्रो प्रतिफल दिनेछ ।’

राष्ट्रियसभाको चुनावमा जस्तै गठबन्धन एकढिक्का भएर चुनावमा जानुपर्नेमा उनको जोड थियो । चुनावमा गठबन्धनले भारी बहुमत ल्याउने उनले दाबी गरे । विगतमा दुई तिहाईको सरकार हुँदा पनि प्रदेश नं १ ले विकासको गति लिन नसकेको उनको भनाई थियो । केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकारले पनि देशलाई ठोस निकास दिन नसकेको उनले टिप्पणी गरे ।

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयको संरचना र सबै कार्य व्यवस्थापन भइरहेको उनले जानकारी दिए । उनले भने, ‘प्रदेश १ का रहेका विभिन्न अस्पतालहरु, जिल्ला अस्पतालहरु, जनस्वास्थ्य कार्यालयहरु र स्थानीय तह अन्तर्गत रहेको स्वास्थ्य केन्द्र लगायतलाई व्यवस्थापन गर्न कार्ययोजना बनाएको छु ।’

मन्त्री यादवले जसपा केन्द्रीय कार्यसमितिको बैठक भर्खरै मात्रै सकिएको जानकारी दिँदै आउँदो २८ गते संघीय परिषद्को बैठक, २९ र ३० गते केन्द्रीय समितिको बैठक र असार १ र २ गते विधानको सम्मेलन गर्ने निर्णय भएको सुनाए । जसपाभित्र बाहिर आएको जस्तो समस्या नरहेको बताए । मन्त्री यादवले भने, ‘मधेश जनविद्रोह गरेको उपेन्द्र यादव, तत्कालिन अवस्थामा जनयुद्धको भुमिकामा नेतृत्व गर्नुभएको र पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई यत्तिको बलियो बनाउन भुमिका खेल्नुभएका नेता अशोक कुमार राईसहितका नेताहरु एकतावद्ध हुनुहुन्छ ।’

प्रतिक्रिया