आइतबार, जेठ ६, २०८१

पल-समीक्षा प्रकरणमा तीन सेलिब्रिटी

नेपालखोज २०७८ फागुन १८ गते २०:३३

काठमाडौं । पल-समीक्षा प्रकरणमा पलको पक्षमा केही कलाकारले आफ्ना अभिव्यक्ति सार्वजनिक गरे पनि धेरै कलाकारले यो विषयमा कुनै टिप्पणी गरेनन् । यद्यपि अहिले अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्मा तथा मिस नेपाल शृंखला खतिवडाले यो विषयमा पीडित बालिकाको पक्षमा जोडदार आवाज उठाएका छन् ।

मिस नेपाल शृंखला खतिवडा लेख्छिन्- एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुनविपरीत हो । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्न बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।

खतिवडाले भनेकी छन्- मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ ? हो, उनी जताततै अन्तर्वार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् । यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्, कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ, त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।

शृंखला भन्छिन्- म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ, बहिनी । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् ।

‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन् भने ‘हुन्न’ भन्ने काम वयस्कको हो । किनभने यहाँ पीडित केही निर्णय गर्नका लागि असाध्यै सानी छिन् । जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए । यसले उमेर,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ ।

आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो । यसले नाबालिग (केटा-केटी) को फाइदा उठाउन खोज्नेहरूलाई खबरदारी गर्छ । यो मुद्दा धेरैका लागि जागरुकताको माध्यम र धेरैका लागि पाठ बन्नुपर्दछ ।

यता अभिनेत्री रेखा थापाले सामाजिक सन्जालमार्फत महिलामाथि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त भएको भन्दै त्यसको विरोध गरेकी छन् ।

‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कतिपटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन,’ थापाले लेखेकी छन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ ।’

यसैगरी अभिनेत्री ऋचा शर्माले पीडित बालिकाको संरक्षण गरेर कानुनको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । ‘मलाई विश्वास छ, नाबालिकाको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्रहत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

ऋचाले भनेकी छन्, ‘…१८ वर्षमुनिकासँग यौनसम्बन्ध राख्नु करणी हो । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि, हैन र ? १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि कर णी ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौँ, नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो करणी हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ।’

प्रतिक्रिया