युक्रेन संकट : तटस्थ मुलुक पनि अगाडि आए

नेपालखोज २०७८ फागुन १९ गते ११:५१

काठमाडौं । रूस र युक्रेनबीचको लडाइँ कति ठूलो र खतरनाक भइसकेको छ भने दशकौंदेखि अन्तर्राष्ट्रिय मामिलामा तटस्थ रहँदै आएका कतिपय देश पनि अब खुलेर अगाडि आउन थालेका छन् । संसारका केही देशले लामो समयदेखि आफूलाई यस्ता युद्धबाट टाढा राख्दै न्युट्रल मुलुकको छवि बनाएका थिए । स्विडेन युरोपको त्यस्तै मुलुक हो जसले १९३९ पछि पहिलोपटक कुनै अर्को देशलाई सैन्य मोर्चामा सहयोग गर्न गइरहेको छ । यस्तै जर्मनीले लामो समयपछि आफ्नो रक्षा खर्च बढाएर १०० अर्ब डलरभन्दा माथि पुर्याएको छ ।

पाँच देश जो शान्त थिए, अब लडाइँको मोर्चामा सहयोगी भए
स्विडेन :
प्रधानमन्त्री म्यागडेलेने एन्डरसनले युक्रेनको सैन्य मोर्चालाई मद्दत गर्ने घोषणा गरिसकेका छन् । उनले भनेका छन्- स्विडेन अरु देशलाई सैन्य मद्दत नदिने आफ्नो नीति तोड्दै छ । एन्डरसनले युक्रेनलाई पाँच हजार एन्टी-टैंक हतियार प्रदान गर्ने बताएका छन् । यसका साथै स्विडेनले रासन, हेलमेट तथ बडी वार्मरजस्ता रसद-पानी पनि युक्रेन पठाउँदै छ । स्विडेनले पछिल्लोपटक १९३९ मा फिनल्यान्डलाई सैन्य सहयोग गरेको थियो र त्यतिबेला सोभियत संघले फिनल्यान्डमा आक्रमण गरेको थियो ।

स्विट्जरल्यान्ड : अहिलेसम्म न्युट्रल रहँदै आएको स्विट्जरल्यान्डले पनि रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । राष्ट्रपति इग्नाजियो क्यासिसले भनेका छन्- कि यो युद्ध युरोपको हृदयमा भइरहेको छ । उनले रुसी हमलालाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताएका छन् । राष्ट्रपति क्यासिसले भनेका छन्- राजनीतिक तथा नैतिक आधारमा रूसको यो हमला असहनीय छ । यतिमात्र होइन स्विट्जरल्यान्ड युरोपियन युनियनको सदस्य नभए पनि युरोपियन युनियनले रुसमाथि लगाएको सबै प्रतिबन्ध स्विट्जरल्यान्डले पनि लागु गर्ने भएको छ ।

फिनल्यान्ड : प्रधानमन्त्री सना मारिनले युक्रेनलाई हतियार सप्लाई गर्ने घोषणा गरेका छन् । उनले आफ्नो यो निर्णयलाई ‘ऐतिहासिक’ बताएका छन् । फिनल्यान्डले युक्रेनलाई २,५०० अस‍ोल्ट राइफल, १.५ लाख बुलेट, १,५०० एन्टी-टैंक हतियार तथा ७० हजार फुड प्याकेट सप्लाई गर्दै छ । यसका साथै प्रधानमन्त्री मारिनले फिनल्यान्ड अब नाटोमा सामेल हुने कुरासमेत बताएका छन् ।

जापान : रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धको समर्थन जापानले समेत गरेको छ । जापानले आफ्नो देशमा भएको रूसी नागरिकको सम्पत्ति जफत गर्ने घोषणासमेत गरेको छ । जापानले युक्रेनलाई एक सय मिलियन डलर ऋण दिनुका साथै एक सय डलर मानवीय सहायताका रुपमा प्रदान गर्ने कुरा बताएको छ ।

जर्मनी : दोस्रो विश्व युद्धपछि पहिलोपटक जर्मनीले आफ्नो विदेश नीतिमा परिवर्तन ल्याएको छ र युक्रेनलाई सैन्य सहयोग गर्ने जनाएको छ । जर्मनीले युक्रेनलाई पाँच सय स्टिन्जर मिसाइल दिँदै छ । जर्मनीका चान्सलर ओलाफ शोल्जले आफ्नो रक्षा खर्च ११३ अर्ब डलर पुर्याउने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया