१० लाखले छाडे युक्रेन ! (रिपोर्टसहित)

किएभ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले युक्रेन–रुस युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने अनुमान गरेका छन् । संयुक्त राष्ट्र संघका अनुसार अहिलेसम्म युक्रेनबाट १० लाख मानिसले देश छाडेका छन् ।
रुसको आक्रमणको युक्रेनी जनताले प्रतिरोध पनि गरिरहेका छन् । तर आक्रमक रूपमा प्रस्तुत भएको रुसका अगाडि सर्वसाधारणका लागि सजिलो छैन । युक्रेनका धेरै जनता रुसले ध्वस्त हुनेगरी आफ्नो देशमा आक्रमण गरेको भन्दै दुखी छन् । सर्वसाधारण आफ्नो आफ्नो ठाउँ छोडेर बाहिरीनु पर्दा भावविहल भएका दृष्यहरू विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको युक्रेनी बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताएका छन् । युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्ना करिब पाँच सय सैनिक मारिएका र झन्डै १६ सय जना घाइते भएका रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको खार्किभ शहरमा रुसी फौजको भीषण गोलाबारीमा परी थुप्रै सर्वसाधारणले ज्यान गुमाएको आशंका गरिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा भएको सम्भावित युद्ध अपराधबारे अनुसन्धान शुरू गर्न लागेको बताएका छन् । संयुक्त राष्ट्रसंघमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुस र युक्रेनबीच युद्धविराम गराउने कूटनीतिक प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताएका छन् । रुसी र युक्रेनी अधिकारीहरूबीच दोस्रो चरणको शान्तिवार्ता बिहीवार बेलारुसी सीमा क्षेत्रमा हुने तय भएको छ ।
रुसले युक्रेनमाथि गरेको पूर्ण स्तरको अतिक्रमण गरिरहेको छ । रुसी सैनिकहरू अगाडि बढिरहँदा युक्रेनी नागरिकहरूले पनि सशक्त प्रतिरोध गरिरहेका छन्। दक्षिणी सहर एनर्होदारका बासिन्दाहरू रुसी सेनालाई धपाउने प्रयासमा स्थानीय ऊर्जा केन्द्रअगाडि लागिपरेको देखिन्छ ।
‘हामी युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्रमा उनीहरूलाई छिर्न दिँदैनौँ,’ नदेखिने एक क्यामरापर्सन बोलेको सुनिन्छ । जापरीजाया क्षेत्रमा रुसी सैनिकहरू पछाडि हटिरहेको ड्रोन फुटेजमा देखिन्छ । भिडिओ पोस्ट गरेको खाताले रुसी सैनिकहरूलाई ‘फर्किन बाध्य पारिएको’ लेखिएको छ ।
-बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया