अमेरिका र युरोपविरुद्धको रूसी मोर्चामा चीन

नेपालखोज २०७८ फागुन १९ गते १२:३०

काठमाडौं । रूसले २४ फेब्रुअरीमा आफैंबाट अलग भएर बनेको छिमेकी मुलुक युक्रेनमाथि धावा बोलेको चौबीस घण्टाभित्र अमेरिकादेखि लिएर युरोपियन युनियन तथा ब्रिटेनले रूसका विरुद्ध अनेकौं प्रतिबन्धको मोर्चा खोलिसकेका थिए ।

यी सबै प्रतिबन्धको उद्देश्य रूसलाई आर्थिक रुपमा कमजोर तुल्याउनु हो । अमेरिकाले आफ्नो प्रतिबन्धमा रूसका बैंक, रुसको हाइटेक सेक्टर तथा ओलिगार्कों अर्थात् पुटिनका निकटस्थहरुलाई निशाना बनाएको छ । उता युरोपियन युनियनले रूसको सरकारलाई पैसा दिने बैंक तथा संस्थाहरुमाथि प्रतिबन्ध लगाएको छ । जर्मनीले नोर्डस्ट्रीम-टु ग्यास पाइपलाइनको आपूर्तिमा रोक लगाएको छ ।

रूसले २०२१ को नोभेम्बरदेखि युक्रेनी सीमानामा सैनिक तैनाथ गर्न थालिसकेको थियो भने पश्चिमी देशको सम्भावित प्रतिबन्धको सामना गर्ने तयारी पनि गरेको थियो । प्रश्न के मात्र हो भने रूसले यी प्रतिबन्धको सामना कसरी गर्नेछ ? अन्तर्राष्ट्रिय आर्थिक मामिलाका जानकारहरुका अनुसार इरान, बेलारूस तथा कजाकिस्तानजस्ता देशले रूसलाई राजनीतिक समर्थन त दिन सक्छन् तर आर्थिक मोर्चामा चीन मात्र रूसको सहयोगी हुन सक्छ । अहम् कुरा के भने यसको भूमिका तयार भइसकेको छ । पहिले यो भूमिका बुझौं त्यसपछि चीनले रुसलाई गर्न सक्ने सहयोगको चर्चा ।

चीन कसरी रूसको साथ छ ?
रूसले जब युक्रेनमा हमला गर्यो तब चीनले त्यसको आलोचना गरेन । चीनले यसलाई ‘हमला’ पनि भनेन । चीनको धारणा थियो- अहिले पनि कुराकानीका माध्यमबाट समस्याको समाधान खोज्ने बाट‍ो खुला छ । चीनले यो घटनाक्रमका लागि अमेरिका र नाटो गठबन्धनको उक्साहटलाई जिम्मेवार मानेको छ । अपेक्षा गरिए जस्तै चीन संयुक्त राष्ट्र सुरक्षा परिषद्‌को बैठकमा अनुपस्थित रह्यो । विश्लेषकहरु यसका पछाडि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको कुराकानीलाई कारण मान्छन् । ४ फेब्रुअरीमा बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन समारोहमा यी दुई नेताबीच भेटघाट भएको थियो र त्यसपछि उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

उक्त संयुक्त विज्ञप्तिमा नाटोको पूर्वतर्फ भइरहेको विस्तारको आलोचना गरिएको थियो । विज्ञप्तिमा रुस र चीनबीच ‘नयाँ युगको सुरुवात’ तथा ‘सीमारहित सहयोग’ को कुरा पनि गरिएको थियो । पुटिन र सीको यही भेटघाटमा १५० खर्ब रुपैयाँभन्दा बढीको सम्झौतासमेत भएको थियो । जर्मन काउन्सिल अन फरेन रिलेसन्समा कार्यरत चीन विशेषज्ञ डीडी किर्स्टन टाटलोभ भन्छिन्- हुनसक्छ उक्त भेटमा पुटिनले सीलाई आफ्नो पूरा योजना बताएनन तर चीनलाई रूसको अघिल्लो कदम के हुन सक्छ भन्ने अनुमान नै थिएन भन्नेचाहिँ होइन । अहिले चीन बाँकी एसियाली देशको ठीक उल्टो रूसमाथि लगाइएको प्रतिबन्धको आलोचना गरिरहेको छ भने के अनुमान लगाउन गारो पर्दैन भने चीन र रूस अमेरिकाका विरुद्ध साझा हितमा काम गरिरहेका छन् ।

रूसलाई के सहयोग गर्न सक्छ चीनले ?
प्रतिबन्धको यो समयमा रूसलाई सबैभन्दा बढी आवश्यकता आर्थिक क्षेत्रमा हुनेछ । रूसले अहिलेसम्म युरोपलाई उसको कुल खपतको ३५ प्रतिशत तेल तथा ग्यास बेच्दै आएको थियो । सी-पुटिन बैठकमा चीनले आउँदो ३० वर्षसम्म रूससँग तेल तथा ग्यास खरिद गर्ने सम्झौता भएको छ, अर्थात् रूसका लागि युरोपेली बजारमा समस्या आउनेबित्तिकै अर्को खरिदार तयार भइसकेको छ । सी-पुटिन बैठकमा रूसको गजप्रोम तथा चीनको सीएनपीसीले नयाँ बाटोबाट ग्यासको आपूर्ति गर्ने सम्झौता गरेका हुन् । २०१९ मा सुरु भएको ‘पावर अफ साइबेरिया’ नामको यो पाइपलाइनले २०२५ सम्ममा आफ्नो पूर्ण क्षमतामा काम गर्न थाल्नेछ ।

चीनले रूससँग उसको गहुँ पनि खरीद गर्ने भएको छ । पहिले चीनले रुसी गहुँ गुणस्तरीय नभएको भन्दै त्यसको आयातमा रोक लगाएको थियो । यता पश्चिमा मुलुकहरु रूसमा कतैबाट पैसा नजाओस् भन्ने चाहन्छन् । तेल र गहुँको यो कारोबारले रुसलाई नियमित मुद्रा उपलब्ध गराउनेछ । यसैगरी चिनियाँ सरकारको स्वामित्वमा रहेका बैंकहरुले रूसलाई ठूलो धनराशि ऋणका रुपमा प्रदान गर्न सक्छन् । उक्त ऋण रूसको मुद्रा रूबल वा चीनियाँ मुद्रा युआनमा हुनेछ । यसका कारण यो लेनदेनमा युरोपेली प्रतिबन्धको त्यति असर देखिने छैन ।

रूसलाई कसरी मद्दत गर्नेछ चीनले ?
भर्जिनियास्थित विलियम ऐन्ड मेरी कलेजको अन्तर्राष्ट्रिय रिसर्च ल्याब एडडाटाका अनुसार रूस २००० देखि २०१७ को बीचमा चीनबाट सबैभन्दा बढी ऋण लिने देश थियो जसको रकम करिब १५१ बिलियन डलर भएको बताइन्छ । भनिन्छ चीनको ‘चाइना डेभलपमेन्ट बैंक’ र ‘एक्सपोर्ट-इम्पोर्ट बैंक अफ चाइना’ को अमेरिकी कम्पनीहरुसँग त्यति कारोबार हुँदैन त्यसैले डलर सिस्टमसँग उनीहरुलाई खासै मतलब हुँदैन । यस्तो अवस्थामा युरोपेली प्रतिबन्धको बढी असर पर्ने छैन । यसरी पनि चीनले रूसलाई आर्थिक मोर्चामा सहयोग पुर्याउन सक्छ ।

रूसले २०१४ मा क्रिमियालाई आफूमा विलय गराएपछि नै रूस र चीनले आपसी कारोबारमा डलरको प्रयोग जति हुनसक्छ घटाउने प्रयास गर्दै आएका छन् । यी दुवै देशबीचको आर्थिक सम्बन्ध पनि मजबुत छ । २०२१ मा दुवै देशबीच रेकर्ड स्तरमा १४५ बिलियन डलरबराबरको कारोबार भएको थियो जुन केही वर्षयता लगातार बढिरहेको छ ।

चीनको समस्या
आज पनि युक्रेनसहित कैंयन् युरोपेली देशसँग चीनको राम्रो व्यापारिक सम्बन्ध छ । जानकारहरु भन्छन्- चीन रूसलाई मद्दत गर्ने नाममा त्यो सम्बन्ध पनि बिगार्न चाहँदैन । यो मुद्दाका दुई पक्ष छन् । चीन अहिले के भनिरहेको छ भने रूसमाथि लगाइएको प्रतिबन्ध अप्रभावी छ, यसले केवल आमनागरिकलाई दु:ख दिनेछ । चीनका लागि युरोपसँगको आफ्नो राम्रो सम्बन्ध कायम राख्नु चुनौती नै हो । उता २०२० मा पीयू रिसर्च सेन्टरले जर्मनी, नेदरल्यान्ड, स्पेन, स्विडेन तथा ब्रिटेनजस्ता देशमा एक सर्भे गरेर चीनका प्रतिको उनीहरुको मनस्थिति जाँचेको थियो । जसको नतिजा चीनका लागि अहिलेसम्मकै सबैभन्दा खराब थियो ।

गएको वर्ष युरोपेली युनियनले इन्डो- प्यासिफिक अर्थात् भारत-प्रशान्त क्षेत्रका लागि पहिलो रणनीति जारी गरेको थियो जसमा चीनलाई सम्भावित चुनौती मानिएको छ । ताइवानसँग युरोपेली युनियनका चेक रिपब्लिक तथा लिथुआनियाजस्ता देशको निकै राम्रो सम्बन्ध छ । उता चीन ताइवानको मामिलामा कसैको कुरा सुन्न तयार छैन ।

चीनको रवैयाका सम्बन्धमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘चिनियाँ सरकार रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धलाई हल्का तुल्याउने प्रयास गरिरहेको छ र यो सहन सकिने कुरा होइन । यस्तो समयमा रूसलाई सहयोग गर्न किन मिल्दैन भने उसले एउटा स्वतन्त्र मुलुकमाथि नांगो आक्रमण गरेको छ ।’

चीन र रूस पुराना साथी अनि प्रतिस्पर्धी पनि
संसारको जनसंख्या र क्षेत्रफलका हिसाबले दुई ठूला देश एक-अर्काको राम्रो सहयोगी साबित हुन सक्छन् । यद्यपि, यो मार्गमा केही अड्चन पनि छन् । केही जानकारहरु के मान्छन् भने डलरसहित अन्य मुद्राको प्रयोगका कारण चीनले रूसलाई प्रतिबन्धको असरबाट त्यति धेरै जोगाउन सक्दैन । रूसी केन्द्रीय बैंकको तथ्यांकअनुसार २०२१ को पहिलो नौ महिनामा चीन र रुसले आफ्नो ८.७ प्रतिशत कारोबार रूबल तथा ७.१ प्रतिशत कारोबार अरु मुद्रामा गरेका थिए । चीन र रूसको आपसी कारोबारमा डलरको भागिदारी ३६.६ प्रतिशत तथा युरोको हिस्सेदारी ४७.६ प्रतिशत थियो । यस्तो अवस्थामा अमेरिकी तथा युरोपेली आर्थिक प्रतिबन्धको असर दूरगामी पनि हुन सक्छ ।

अर्को अडचन अतीतसँग सम्बन्धित छ । अहिले अमेरिका का कारण चीन र रूस नजिकिएका छन् । उनीहरुबीच राम्रो सम्बन्धको लामो इतिहास पनि छ । विचारधाराको स्तरमा पनि उनीहरु नजिक छन् । यद्यपि उनीहरुबीच १९६९ मा सीमा विवाद पनि चर्किएको थियो र त्यतिबेला युद्धको घोषणाबिना उनीहरुबीच रक्तपातयुक्त संघर्ष भएको थियो । उक्त लडाइँ समाप्त भएपछि अमेरिकाले चीनलाई रूसका विरुद्धको आफ्नो एउटा मित्र देख्न थालेको थियो । त्यसपछि सुरु भयो चीनको पिङ पङ डिप्लोमेसी । अहिले ५० वर्ष बितिसकेको छ र संसारमा ठूलाठूला परिवर्तनहरु भएका छन् । स्वयं चीन संसारको एउटा ठूलो आर्थिक तथा सैन्य शक्तिमा परिवर्तन भएको छ भने रुस पनि अनेकन उतार चढाव सहँदै पुन: तागतिलो भएको छ । यस्तोमा चीन र रुसको मित्रताको नयाँ चरणले संसारलाई कसरी प्रभावित तुल्याउनेछ भन्ने कुरा हेर्न केही समय पर्खनै पर्छ ।
डीडब्ल्यू फिचरमा आधारित

प्रतिक्रिया