‘बी’ डिभिजन लिग : टुसाललाई हराउँदै चर्च ब्वाइजको सुखद सुरुआत

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभजन लिग अन्तर्गत बिहीबार भएको खेलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा चर्च ब्वाईजले टुसाल युथ क्लबलाई हराएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा चर्च ब्वाईजले टुसाललाई ५–२ गोल अन्तरले पराजित गरेको हो । यस्तै तेस्रो खेलमा पुरानो क्लब रानीपोखरी कर्नर टिम (आरसीटि) खुमलटार युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा नयाँ बस्तीले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो । २२ औं मिनेटमा अबय धिमालको नयाँ बस्तीले सुरुआती अग्रता लिएको थियो । तर, ४८ औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरीमा ल्याए पछि खेल झन रोमाञ्चक बनेको थियो ।
६८ औं मिनेटमा सुमन योज्ञाले गोल गर्दै नयाँ बस्तीलाई २–१ को पुन अग्रता दिलाए पनि ८७ औं मिनेटमा नीरबहादुर आलेले गोल गर्दै श्री कुमारीलाई पुन २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोली स्पष्ट अंक खोस्न तरिकाले आक्रामक खेल खेले पनि दुबै तर्फबाट थप गोल हुन सकेन । र, दुबैले अंक बाँडे । यस बराबरीसँगै आफ्नो पहिलो खेलमा नयाँ बस्ती र श्री कुमारीले १–१ अंक जोडेर लिगको उद्घाटन गरेका छन् ।
प्रतिस्पर्धात्मक बनेको दिनको तेस्रो खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै सहिद स्मारक बी डिभिजन लिगमा सुखद सुरुआत गरेको छ । १८ औं मिनेटमा दीवस छन्त्यालको गोलबाट खुमलटारले अग्रता लिएको थियो ।
खुमटारका विपिन थापामगरले ८०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए भने इन्जुरी समयमा नवराज गुरुङले गोल गरेपछि खुमलटारले सहज जित निश्चित गरेको थियो । यस अघि आरसिटीका अनिल गुरुङले ८७ औं मिनेटमा एक गोल गर्दै अन्तर घटाएका थिए । जितसँगै खुमलटारले जितबाट लिगमा विजयी सुरुआत गरेको छ भने आरसिटीले हारबाट लिग आरम्भ गरेको छ ।
लिग अन्तर्गत आजको पहिलो खेलमा चर्च ब्वाइज क्लबले आशिष चापागाईको ह्याट्रिकको सहयोगमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै सुखद सुरुआत गरेको हो । आशिषले छैटौं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीले २–० को अग्रता लिँदा २१ औं मिनेटमा विकाश राईले गोल गर्दै टिमको अग्रता ३–० पुगेको थियो । आशिषले खेलको ३३ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजविरुद्ध पहिलो हाफमा ४–० को अग्रता दिलाउँदै बलियो अवस्थामा पुर्याएका थिए ।
यससँगै आशिषले जारी बी डिभिजन लिगमा पहिलो ह्याट्रिक गरेका छन् । त्यस्तै ७२ औं मिनेटमा टुसालका गिलेस्पी जंग कार्कीले पेनाल्टीबाट गोल गर्दै खेल ४–१ को स्थातिमा ल्याएर खेलमा फर्किने संकेत देखाएपनि ८५ औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई ५–१ को मजबुत अवस्थामा पुर्याएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा टुसालका उत्तम शाहीले गोल गर्दै अन्तर घटाए पनि चर्च ब्वाइज ५–२ ले विजयी भयो । जितसँगै चर्च ब्वाइजले पहिलो खेलको सफलता पछि तालिकामा स्पष्ट ३ अंक जोडेको छ भने टुसालले हारबाट लिगको सुरुआत गरेको छ ।
लिगमा शुक्रबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल मध्यपुर युथ एसोसियन र समाजिक युथ क्लब तथा दोस्रो खेल सरस्वती युथ क्लब र झम्सीखेल युथ क्लबबीच खेल हुनेछन् । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
प्रतिक्रिया