शुक्रबार, जेठ ११, २०८१

युक्रेनमा युरोपकै सबैभन्दा ठूलो मानिने परमाणु ऊर्जा केन्द्रमा आगलागी

नेपालखोज २०७८ फागुन २० गते १०:१४

किएभ । रुसी सेनाले आक्रमण गर्दा युक्रेनको परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको छ । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको हो । तर अधिकारीहरूले त्यहाँ भएका अत्यावश्यक उपकरणहरूले काम गरिरहेको बताएका छन्।

रणनीतिक महत्त्वको युक्रेनी बन्दरगाह शहर मारिउपोलका अधिकारीहरूले रुसी फौजको भीषण गोलाबारीका कारण ऊर्जा र पानीको आपूर्ति रोकिएको बताएका छन् । युक्रेनको दक्षिणी शहर एनर्गडारका मेयरले रुसी फौजको गोलाबारीपछि जापोरिज्या परमाणु ऊर्जा केन्द्रनजिक आगो लागिरहेको बताएका छन् ।

मानवीय संकट गहिरिँदै गर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न अपील गरेका छन् । युक्रेनमा गरेको अतिक्रमणको सशक्त प्रतिरक्षा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले योजना अनुसार नै अगाडि बढिरहेको बताएका छन् ।

विश्व बैंकका प्रमुखले युक्रेनमा जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् । युक्रेनी शरणार्थीलाई तीन वर्षसम्मका लागि विशेष अस्थायी सुविधा दिने विषयमा युरोपेली संघमा आबद्ध देशका आन्तरिक मामिलामन्त्रीहरू सहमत भएका छन् । रुसी अतिक्रमण शुरू भएयता १० लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
–बीबीसी

प्रतिक्रिया