आइतबार, जेठ ६, २०८१

‘द भ्वाइस किड्स’ का विजेता जेनिश उप्रेतीको गीत ‘बाटो’ सार्वजनिक

नेपालखोज २०७८ फागुन २० गते २०:३३

काठमाडौं । द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाजमा रहेको ‘बाटो’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा बाल गायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ ।

गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाललगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए ।

भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटोहरु हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन् ।

बालगायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । उनी भन्छन्, ‘भिडियोको छायांकनको बेला अलि गाह्रो भएको थियो । तर, पछि आफूले गरेको अभिनय हेर्दा हाँसो पनि लाग्यो र खुसी पनि भएँ ।’ आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।

प्रतिक्रिया