बुधबार, असार १८, २०८२

कांग्रेस जिल्ला सभापतिमा यादव विजयी

रासस २०७८ फागुन २१ गते ८:४३

महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतदानको शनिबार बिहान घोषित परिणामअनुसार पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

विजयी यादवले खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत पाए । उनका निकटतम प्रतिस्पर्धी सुशीलकुमार यादवले ७७९ र अर्का प्रतिस्पर्धी बजरंग नेपालीले ३०६ मत प्राप्त गरे । मत गणनामा ४३ मत बदर भएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका थिए । सभापति पदको नतिजा सार्वजनिक भएपछि अब अन्य पदाधिकारी र सदस्यको पनि मतगणना थालिएको छ ।

सभापतिमा विजयी यादव पञ्चायतकालदेखि नै पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय थिए । यसअघि नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका यादव दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उम्मेद्‌वार भए पनि विजयी भएका थिएनन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया