सोमबार, जेठ १४, २०८१

ओलीले भने- माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ

नेपालखोज २०७८ फागुन २१ गते १४:३२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र भन्ने पार्टी इतिहासमा मात्र रहने बताएका छन् । प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई बिर्तामोडमा सम्बोधन गर्दै ओलीले केही दिनमा माओवादी सकिने बताए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै उनलाई एमालेले सकेको नभई उनले चिनामा नै त्यस्तो भाग्य बोकेर आएको बताए । एमसीसी संसदबाट पारित भइसकेपछि प्रचण्डले दिएका प्रतिक्रियाप्रति मसेत ओलीले कटाक्ष गरे । उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनू, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’

प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकिरहेको ओलीको दाबी छ । माओवादी केन्द्र भन्ने पार्टी अब केही दिनमा सकिने ओलीले दाबी गरे। उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर। अब त्यो आयो।’

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो ।उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

उनले माओवादी केन्द्र सकिनु पर्ने बताए ।ओलीले माओवादी केन्द्रलाई मात्र नभएर एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे। उनले भने, ‘माधव नेपालको पार्टी त बनेकै छैन। बन्दै नबनी सकिन्छ ।’

ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे । उनले भने, ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ । दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरोलो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

२०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उनले बताए । ओलीले भने, ‘०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु ?’

प्रतिक्रिया